निजामती सेवक र प्रकाशन संस्थाको भाषा

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा मध्यमस्तरका निजामती अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम चलिरहेको थियो I एक जना सिद्धहस्त प्रशिक्षकले भने -मैले यसलाई अझ जोडदार रूपमा ‘जवाफदेहिता’ र ‘जिम्मेदारिता’ भन्ने गरेको छु I एक जना अत्यन्तै प्रतिभावान् कहलिएका सचिवले एउटा सरकारी विज्ञप्तिको मस्यौदा तयार गरेर उपसचिवलाई दिए I भाषा जोडदार थियो I भन्न खोजिएको कुरा पनि प्रस्ट थियो I उपसचिवले विज्ञप्तिमा रहेको ‘तादात्म्यता’ शब्दलाई ‘तादात्म्य’ बनाएर टाइप गरेर बुझाए I सचिवले त्यसलाई सच्याएर ‘तादात्म्यता’ नै कायम गरिदिए I एकजना लोक सेवामा ‘टप’ गरेका सहसचिवले एउटा मस्यौदामा लेखे, -अनुशासन र ‘इमान्दारिता’ कर्मचारीको सबैभन्दा ठुलो गुण हो I अर्का एकजना असल प्रशिक्षकले सुशासन शीर्षकमा पढाए -कर्मचारीले आफ्नो कामसँग सम्बन्धित व्यक्तिसित ‘सामिप्यता’ कायम गर्नु हुँदैन I अर्का एकजनाले लेखे – भाषामा ‘सौन्दर्यता’ हुनु आवश्यक छ I अर्का उच्चपदस्थले लेखे -कामको सिलसिलामा ‘धैर्यता, गुमाउनु हुँदैन I अझै अर्का वाचाल उपसचिवले भने – यस्तो संवेदनशील कुरामा सचिवज्यूको ‘मौनता’ सुहाएन I

एउटा सरकारी निकायबाट  ‘गैह्रसरकारी’ संस्थाहरुको नाममा अत्यन्त जरुरी ‘सुचना’ प्रकाशन भयो I  लोक सेवा पास गर्ने ‘अचुक’  ‘सुत्र’ भन्ने शीर्षकमा एउटा लेख प्रकाशित भयो र खूब रुचाइयो पनि I एउटा लेखको शीर्षक थियो – ‘गैह्र बजेटरी’ खर्च नियन्त्रणका उपायहरु I गोरखापत्र संस्थानको वेब साइटमा देखियो – सबै  ‘सुचना’ समाचार तथा विज्ञप्तिहरु I

एक अनलाइनमा यसरी पढे लोक सेवा ‘परिक्षामा’ पास पक्का शीर्षकमा लेख प्रकाशित भयो I त्यही लेखको टिप्स नम्बर १ मा पहिलो शब्द नै ‘धैर्यता’ रहेछ I लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने सूत्रहरु दिइएको त्यस आलेखमा ‘केहि’ ‘सुचना’ र ‘उत्तिर्ण’ उल्लेख भएको पाइयो I त्यस्तै लोक सेवा आयोगको परीक्षामा सफल भएका मेधावी निजामती कर्मचारीबाट लोक सेवा उत्तीर्ण गर्न सुझाइएको उपायको विवरणमा ‘पढाई’ र ‘लेखाई’ शब्द प्रयोग गरेको देखियो I

केही वर्षअघिको कुरा हो I योगी नरहरिनाथ कुनै जिल्लाको कृषि कार्यालयमा पुगेछन् I कार्यालयका प्रमुखको कार्यकक्षमा जिल्लाको कृषि विकास सम्बन्धी प्रगति विवरण टाँसिएको थियो I नेपाल सरकारको अड्डामा राखिएको त्यो औपचारिक अभिलेखमा ‘कृषी’ लेखिएको रहेछ I योगीले सोधेछन् -यस्तो अशुद्ध शब्द किन लेखेको ? हाकिमको उत्तर थियो -कुरो बुझे भएन र हजुर ? किन्तु त्यो उत्तर योगीलाई चित्त बुझेन I उनले सोधे -त्यो अङ्ग्रेजी ‘एग्रिकल्चर’ को ‘आइ’ को सट्टा ‘इ’ राखे पनि कुरो त बुझिन्छ, किन शुद्ध लेख्नु भयो नि ? हाकिमले जवाफ दिएछन् -स्पेलिङ त बिगार्नु भएन नि हजुर !

शब्दमाथिको निरन्तर लापरबाहीले गर्दा पनि निजामती सेवाको बदनाम भएको छ I नेपाली भाषाको सबैभन्दा बढी अपमान सरकारी निकायबाटै भइरहेको छ I धेरै सरकारी निकायबाट सार्वजनिक हुने विज्ञप्ति, सूचना र सन्देशहरूमा प्रयुक्त शब्दहरूको कारण बारम्बार लज्जास्पद अवस्था पैदा भएको छ I अज्ञान र द्विविधा स्वाभाविक हो, किन्तु लापरबाही स्वाभाविक होइन I औपचारिक सरकारी लेखाइहरू अशुद्ध हुनु किमार्थ राम्रो होइन I अझ राज्यको सर्वोच्च संस्था या पदाधिकारीको नामबाट जारी हुने सूचना, बधाई या समवेदना जस्ता कुरामा लापरबाही हुनु अक्षम्य हो I त्यस्ता मस्यौदाहरू सल्लाहकार या निजामती अधिकारी जोबाट तयार गरिएको भए तापनि अत्यन्तै गैर जिम्मेवार कार्य हो I

केन्द्रीय निकायमा कार्यरत प्रशासन सेवाका अधिकृतहरूले मुख्य रूपमा अभिलेख व्यवस्थापन र लेखापढीको काम नै गर्नुपर्दछ I प्रशासन सेवाका कर्मचारीले आफ्नो कामसँग सम्बन्धित विषय र कानुनमा दक्षता हासिल गरेका हुन्छन् भन्ने आम मान्यता छ I तर आजको प्रशासन सेवामा प्रज्ञाको माध्यमबाट नभई सूत्रबद्ध अध्ययनको आधारमा छनौट गर्ने परिपाटी कायम हुन गयो I जसले सूचना सङ्कलन गर्न र घोक्न सक्यो, त्यही उत्तीर्ण हुने परम्परा बस्यो I यहाँ लोक सेवाको परीक्षामा उत्तीर्ण हुनेहरूको अपमान गर्न खोजिएको किमार्थ होइन I जो उत्तीर्ण भएका छन्, मेधावीहरू नै भएका छन् I परीक्षा प्रणाली सूचनामा मात्र आधारित नभई प्रज्ञामा समेत आधारित भएको भए ती प्रतिभाहरूले सूत्रबद्ध घोकाइको बदलामा प्रज्ञापूर्ण अध्ययनमा समय खर्च गर्न पाउँथे भन्न खोजिएको मात्र हो I

अहिले जवाफदेहिता, तादात्म्यता, इमान्दारिता, मौनता, धैर्यता, जिम्मेदारित, मध्यनजर, अहंता, मानवीयता, राजनैतिक, अन्योलता, गैह्रबजेटरी, गैह्रसरकारी, सुचना,  उत्तिर्ण, सुत्र, जस्ता शब्दहरु खूब प्रसिद्ध भएका छन् I ‘जवाफदेहिता’ शब्द त मूल सरकारी दस्तावेजको अङ्ग बनिसक्यो I लोक सेवाको पाठ्यक्रम र परीक्षा प्रणाली लेखाइको  शुद्धिभन्दा सूचनामा आधारित भयो I परीक्षा प्रणाली ‘नलेज बेस्ड’  भन्दा ‘इन्फर्मेसन बेस्ड’ ज्यादा  भयो I निजामती कर्मचारी  सूचित मात्र  होइन, दीक्षित समेत हुनु जरुरी छ  I

सामाजिक सञ्जालमा कसैले लेखेको भेटिएको थियो, ‘पृथ्वीनारायण शाहको जन्म मिति घोकेर लोक सेवा पास गर्नु भनेको प्रतिभाशाली हुनु होइन I’ हो, अब पृथ्वीनारायण शाहको जन्म मिति मात्र होइन, उनको विचारको बारेमा शुद्ध शब्दमा लेख्न सक्ने कर्मचारी चाहिन्छ I अब प्रशासन सेवाको कर्मचारी छनौट गर्दा सुशासनका सूत्र घोक्ने मात्र होइन, व्यक्तिगत र राष्ट्रिय जीवनमा सुशासनको महत्त्वबारे जानकार व्यक्ति छान्नु आवश्यक छ I भाषागत अशुद्धिको सङ्गठित रूपबाट मुक्ति पाउने हो र कर्मचारीवर्गमा प्रज्ञाको विकास गर्ने हो भने पाठ्यक्रम र परीक्षा प्रणालीमा परिमार्जन गर्नु नितान्त जरुरी छ I

अब प्रकाशनतर्फ हेरौं :

घोराही  सडक मानवविहीन

भूकम्पमा दश  हजार बढी मारिए

चारजना मानिस बीचैबाट फर्किए

शाही कालका घटना

केपी ओली नेतृत्व सरकार

शंकट काल

गैह्रसरकारी संस्था

देउबा ओली सरकारको विरोधमा उद्धत

लक्ष्मण रेखाको उल्लङ्घन

अख्तियारको  ‘स्ट्रिंग’ अपरेसन

अनुभवीले खारिएको

इमान्दारी कर्मचारी

उनको प्राज्ञता देखेर सबै अचम्म पर्दै

बलात्कारी प्रहरी नियन्त्रणमा

श्रोत व्यवस्थापन

संघीय प्रणालीले आफ्नो औचित्यता प्रमाणित गर्नु आवश्यक

माथिका वाक्यांशहरू विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशित भएका प्रतिनिधि उदाहरण हुन् I

मैले विभिन्न प्रकाशनमा पठाएका लेखहरू सम्पादन गर्दा मूल लेखका निम्न शब्दहरूलाई निम्न अनुसार कायम गरिएको पाएको छु I

दुष्कृति-असर, सल्तनत-सुल्तनत, दगा गरिन्-दया गरिनन्, छट्टू-छट्टु, झूट-झुट, मिठास-मिठासता, उद्यत-उद्धत, औचित्य-औचित्यता, इमान्दारी-इमान्दारिता
ठस्सा-ठाँट आदि I

नोट – यो पङ्क्तिकार भाषा विज्ञान र व्याकरणको विज्ञ होइन I यही लेखमा पनि त्रुटि भेटिन सक्छ I यो लेखको मूल ध्येय निजामती कर्मचारीले तयार गर्ने औपचारिक मस्यौदाहरू शुद्ध, शिष्ट र शालीन भाषामा भए राम्रो हुने थियो भन्ने मात्र हो I प्रतिभाशाली भनेर पहिचान बनाएका कर्मचारीबाट प्रकाशन हुने लेखमा भाषाको शुद्ध शुद्धिमा ध्यान जानु राम्रो हुन्छ I प्रकाशन संस्थाहरू पनि अलि जिम्मेवार हुनु जरुरी छ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!