पुस्तकमै गम्भिर त्रुटि : कहिले सम्म भ्रम पढाइरहने ?

छविलाल श्रेष्ठ 

पहिलो प्रसङ्ग : झुमा प्रथाको भ्रम

सामाजिक अध्ययन शिक्षणका क्रममा अहिले लकडाउनमा अनलाइनबाटै विद्यार्थीलाई सहजीकरण गराउँदैछु । यस क्रममा कक्षा १० मा नेपालका केही सामाजिक विकृतिहरूका बारेमा जानकारी दिनुपर्ने छ । शनिबार साँझ त्यसैको तयारी गर्दै गर्दा ‘झुमा संस्कृति’का विषयमा ईण्टरनेटमा सन्दर्भ सामाग्री खोज्न थालेँ । त्यहाँ एउटा सामाग्री अंग्रेजीमा रहेछ ।

सन् २०१४ मा पोष्ट गरिएको सो सामाग्रीमा झुमालाई देउकी प्रथासँगै तुलना गरेर लेखिएको छ । जसमा झुमा प्रथा नेपालका हिमाली भेगमा अझै कायमै रहेको बताइएको छ । यसमा झुमा प्रथा विशेषतः पूर्वी नेपालमा रहेको र परिवारको माहिली छोरीलाई झुमा बनाएर गुम्बा/बिहारमा अर्पण गरिने उल्लेख छ ।

तर यसको प्रतिक्रिया खण्डमा प्रकाशित सामाग्रीका बारेमा शेर्पा समुदायकै पाठकको विरोध देखे पछि मेरो चासो अलि बढ्यो ।

मसँग उपलब्ध स्रोत पुस्तकहरूमा समेत स्पष्ट रुपमा झुमा शेर्पा समुदायको संस्कृति भएको र माहिली छोरीलाई झुमा बनाइने गरिएको उल्लेख छ । अझ एउटा निजी प्रकाशनको अभ्यास पुस्तकमा झुमा प्रथा पश्चिम र मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको उल्लेख गरिएको पाएँ । अर्कोमा पूर्वका शेर्पा समुदायका तर माहिली छोरीमात्रै झुमा बनाइने दावी गरिएको छ ।

एउटै प्रसङ्गमा फरक फरक कुराहरू देखिए पछि सामाजिक अध्ययन विषय अध्यापन गर्ने शिक्षकहरूलाई ‘ट्याग’ गरेरै झुमा प्रथाका बारेमा फेसबुक मार्फत जानकारी लिन खोजेँ । नतिजा उही आयो, शेर्पा वा बौद्ध धर्मावलम्बी समुदाय, माहिली छोरी र गुम्बा÷बिहारमा समर्पण ।

खास कुरो के हो त ? आधिकारिक स्रोत खोज्दै ’हिमालयन शेर्पा सांस्कृतिक केन्द्र’का महासचिव सेर्कु शेर्पासम्म पुगेँ । शेर्पासँगको टेलिफोन सम्पर्कमा उहाँले स्पष्ट भन्नुभयो – ‘यो शेर्पा समुदायको संस्कृतिमा कतै पर्दैन । यसलाई सच्याउन केन्द्रले पहल पनि गरिरहेको छ । आधिकारिक धारणा पनि पटक पटक अघि सार्दै आएको छ ।  तर पनि विद्यार्थी लक्षित निजी प्रकाशनका पुस्तकहरूबाट यो भ्रम हटाउनै सकिएन ?’
उहाँको भनाइ अनुसार झुमा मात्र होइन, शेर्पा संस्कृतिका विषयमा बहुपति प्रथा लगायत थुप्रै भ्रम यस अघि देखि नै लेखिँदै आएको छ । जुन वास्तवमा सत्य होइन ।

झुमा खासमा अहिले अस्तित्वमै छैन । केही दशक अघिसम्म भने यो मुक्तिनाथ क्षेत्र वरपर प्रचलनमा रहेको थियो । बौद्ध दर्शनका अध्येता मोहन लामा रुम्बाका अनुसार बहुपति प्रथा जस्तै झुमाका पनि केही अवशेष रहेका हुन सक्छन् । किताबहरूमा लेखिए जस्तो यो कुप्रथाका रुपमा अहिले छैन ।

तर वेबसाइट भन्छ, अहिले पनि थुप्रै गैह्रसरकारी संस्थाहरु यो प्रथामा सुधार ल्याउन लागि परेका छन् !

दोस्रो प्रसङ्ग : डोल्पाको खुला प्रथा

कक्षा १० कै लागि तयार पारिएको पुस्तकमा खुला प्रथाको बारेमा एउटा प्रश्नोत्तर छ ।

यसमा भनिएको छ – ‘खुला प्रथा भनेको अविवाहित महिलाहरूलाई पुस १५ देखि चैत १५ गतेसम्म जङ्गलमा एकान्तबासमा पठाउने चलन हो ।’

उल्लेखित उत्तरले कहाँ र कुन समुदाय भन्ने नखोले पछि फेरि ईण्टरनेटमा खोज्न थालेँ । लोकसेवाका प्रश्नहरु सोधिने एउटा फेसबुक पेजको कमेण्टमा ‘खुला प्रथा डोल्पाको सर्मी गाउँमा यो प्रचलन रहेको’ भन्ने जानकारी भेटिए पछि डोल्पाली साथीहरू खोज्न थालेँ ।

डोल्पामै जन्मे हुर्केका हाल निजामती सेवामा रहनुभएका भक्तबहादुर बुढाको जवाफले मलाई आश्चर्य चकित बनायो । यो संस्कृतिका बारेमा आफूले पनि लोकसेवाको तयारी गर्नेक्रममा काठमाडौं पुगेर मात्रै थाहा पाएको बुढाको जवाफ थियो । विभिन्न सुत्र हुँदै सर्मी गाउँ रहेको हालको मुड्केचुलो गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीको सम्पर्कमा पुगेँ । संयोगले उहाँ सर्मी गाउँकै हुनुहुँदो रहेछ ।

शाहीका अनुसार यो प्रचलन उहाँले पनि बाल्यकालमै अलिअलि थाहा पाउनु भएको हो । तर किताबमा उल्लेख भए जस्तो तीन महिना लामो पनि थिएन र अविवाहित किशोरी मात्रैको जङ्गली एकान्तबास पनि थिएन । खुला प्रथा अनुसार गाउँ नजिकै एउटा सामुहिक घर बनाइएको हुन्थ्यो । त्यहाँ गाउँका सबै जसो किशोर किशोरी पुस १५ देखि माघे संक्रान्तिसम्म बस्थे । त्यही पन्ध्र दिनको बसाइ पछि मन मिल्ने केटाकेटी माघे संक्रान्तिमा घरजम गर्न राजी हुन्थे । यो प्रचलन सर्मी गाउँबाट लोप भएको दशकौँ भैसक्यो । अब उति बेला खुला बसेका केही मानिस यो प्रथाको अवशेषका रुपमा चाहिँ पाउन सकिएला ।

अझै कति भ्रम विद्यार्थीलाई रटाइरहेका हौँला !

यो खोजको विषय हो । एकै छिनको उत्सुकताले यहाँसम्म पुगेँ । यो भ्रम पढाइरहेको रहेछु भन्ने बल्ल थाहा लाग्यो । किताबमा यस्ता भ्रमपूर्ण विषयवस्तु अझै धेरै हुन सक्छन् । यसको एउटै कारण पुस्तक लेखकहरू तथ्यमा नभई पचासौं वर्ष अघिमा सामान्य टिपोटलाई आधिकारिक मान्ने भ्रममा रहनु नै हो । शिक्षक र विद्यार्थीले आधिकारिक भनिएका पुस्तकमा जे छापिएर आउँछन् त्यसैलाई पढाउने र पढ्ने हो ।

उल्लेखित दुई तथ्य उदाहरण मात्र हुन् । यी दुई प्रसङ्गबाट पुस्तक लेखकहरूले अब चाहिँ के बुझ्नु जरुरी छ भने संस्कृति र पहिचानका कुरा अनुमानमा लेखिनु हुँदैन । कुनै पनि तथ्यलाई किताबमा उल्लेख गर्नु भन्दा पहिले त्यसको वस्तुगत सत्य के हो भन्ने कुरा प्रत्यक्ष अनुभव गर्नु पर्छ । खोज अनुसन्धान गर्नुपर्छ । दशकौँ अघि कसैले गरिदिएको अनुसन्धानमा यतिञ्जेल दर्जनौँ परिमार्जन भैसकेका हुन सक्छन् वा उतिबेलाको अनुसन्धान अपुरो पनि हुनसक्छ ।  सुचना प्रविधिको युगमा बाँचिरहेका हामीलाई यी सबै तथ्यको प्रमाणीकरण गर्न न पहिलेको जस्तो समय लाग्छ, न त श्रम नै ।

हाल मुलुक भरका सामाजिक अध्ययन विषय शिक्षकहरू संगठित हुने क्रममा छन् । मकवानपुरमा सामाजिक अध्ययन शिक्षक संगठन – (सोस्टा)  र काठमाडौंमा सामाजिक अध्ययन तथा अनुसन्धान समाज – (सोसन) क्रियाशील छन् । कम्तिमा यीनले विशेषत साँस्कृतिक अध्ययनको क्षेत्रमा भएका भ्रम चिर्न अगाडि बढ्नुपर्छ ।

झुमा प्रथाका विषयमा मेरो जिज्ञासा माथि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाको भनाई आइसके पछि एकजना समाज शास्त्रका विद्यार्थीले आफूहरूले बाल्यकालदेखि विश्वविद्यालयसम्म यही (शेर्पा संस्कृति भनेर) पढेको र यसले एकखालको मान्यता बनाइसकेको बताए । यसको अर्थ हामीले अझै यिनै भ्रम पढाइरहने हो भने हामी पछिको पुस्ताले पनि यसैलाई सही मानिरहनेछ । विद्यालय, विश्वविद्यालय वा स्थायी सरकार सञ्चालन गर्ने निजामती कर्मचारीहरू पनि यस्तै भ्रम पढिरहने छन्, सिकिरहने छन् ।

देशैभरका सामाजिक अध्ययन विषय अध्यापन गराइरहेका शिक्षकहरू यी भ्रम चिर्न सबै भन्दा बढी जिम्मेवार छन्, हुनुपर्छ । कुनै पनि तथ्यलाई विद्यार्थीको तहसम्म लैजानु अघि त्यसको तथ्यगत पुष्टि गर्ने पर्याप्त आधार खोजेर अघि बढ्न सके मात्र वास्तविक शिक्षण हुनसक्छ ।

श्रेष्ठ, मकवानपुरको हेटौंडा स्थित एक निजी विद्यालयमा अध्यापनरत छन् ।  – इडीयु खबरबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *