लेखा प्रणाली सम्बन्धि केही विषयगत प्रश्नोत्तरहरु

प्रश्न नं. १ लेखा प्रणाली भनेको के हो ? नेपालको वर्तमान लेखा प्रणालीका कमजोरी तथा सुधारका लागि सुझाबहरू दिनुहोस् । (१०)

आर्थिक अनुशासनका लागि : लेखा प्रणाली
मौद्रिक महत्त्व भएको आर्थिक कारोबारलाई निश्चित ढाँचामा अभिलेख र प्रस्तुत गर्ने कार्यविधि नै लेखा प्रणाली हो ।
लेखा प्रणाली एउटा सूचना प्रणाली हो जसले आर्थिक कारोबारको पहिचान, अभिलेखांकन, मापन, वर्गीकरण, पुस्ट्याई तथा संक्षेपीकरण गर्दछ। आर्थिक कारोबारका विश्वव्यापी सिद्धान्तहरूको आधारमा आर्थिक कारोबारहरूको संकलन र वर्गीकरण गरी गोस्वारा भौचर, नगदी किताब, बही खाता तयार गरी संस्थाको वित्तीय विवरणहरू तयार गर्नेसम्मको कार्यलाई समग्रमा लेखा प्रणालीका रूपमा चिनिन्छ ।
लेखा प्रणालीलाई एकोहोरो लेखा प्रणाली दोहोरो लेखा प्रणाली गरी २ भागमा वर्गीकरण गर्न सकिन्छ ।
आधुनिक लेखा प्रणालीअन्तर्गत नेपालको प्रणालीमा आधारित छ। यसको सुरुवात वि.सं. २०१८ सालदेखि भएको हो । यसलाई नयाँ स्रेस्ता प्रणाली भनेर पनि चिनिन्छ । यसका कमजोरी तथा सुधारका उपायहरू निम्नानुसार प्रस्तुत गरिएको छ
नेपालका लेखा प्रणालीका कमजोरीहरू
  • नगदमा आधारित हुनु,
  • आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नभएको,
  • समयमा केन्द्रीय लेखा तयार नहुने,
  • हासकट्टीको व्यवस्था नभएको,
  • सम्पत्ति र दायित्वको यथार्थ स्थिति मूल्यांकन गर्न नसकिएको,
  • पेस्कीलाई खर्च मान्ने पद्धति रहेको,
  • लेखाका परम्परागत ढाँचामा आधारित फारामहरू,
  • पद्धतिमा आधारित हुन नसकेकाे,
  • जिन्सी लेखांकनमा स्पष्टता नभएको, आदि ।
सुधारका लागि सुझावहरु
  • सरकारी लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मानदण्डबमोजिम तादात्म्य मिल्ने गरी परिमार्जन गर्ने,
  • लेखा प्रणाली बजेटको उद्देश्य पूरा गर्ने हुनुपर्ने,
  • नगद आधारको लेखांकनबाट प्रोद्भावी लेखांकन प्रणालीमा परिणत गर्नुपर्ने,
  • लेखाका फारामहरूलाई परिमार्जन र सरलीकरण गर्नुपर्ने,
  • लेखा प्रणाली सरकारी आम्दानी, खर्च, सम्पत्ति र दायित्वको पूर्ण कारोबारको पूर्ण लेखांकनमा सक्षम हुनुपर्ने,
  • लेखा प्रणालीले सर्वमान्य लेखाका सिद्धान्त अवलम्बनमा जोड दिनुपर्ने,
  • समयमै वित्तीय विवरण तयार गरी लेखापरीक्षणमा सघाउ पुयाउनुपर्ने,
  • आन्तरिक नियन्त्रण व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने,
  • स्पष्ट लेखा नीतिहरू तर्जुमा गरी लागू गर्ने ।
अन्त्यमा,
कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानुनबमोजिम राखिएको हिसाब तथा सो कारोबारलाई पुष्टि गर्ने कागजात लेखा हो लेखा राख्ने पद्धतिलाई लेखा प्रणालीका रूपमा चिनिन्छ । नेपालको वर्तमान स्रेस्ता प्रणालीमा देखिएका समस्यालाई सुधार गर्दै अगाडि बढ्न सकेमा सरकारी कार्यालयलाई छुट्याएको बजेटको सदुपयोग भई समग्र मुलुकमा सुशासन कायम गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रश्न नं. २ सहकारी संस्थामा सन्दर्भ ब्याजदर निर्धारणमा लिइने आधार उल्लेख गर्नुहोस् । ५

अर्थतन्त्रको सबलीकरणका लागि सहकारी
सहकारी ऐन २०७४ मा सन्दर्भ व्याजदर निर्धारण सम्बन्धमा व्यवस्था गरिएको छ । सहकारी विभागको रजिस्ट्रारको संयोजकत्वमा रहने सन्दर्भ ब्याजदर समितिले विभिन्न सूचकहरूका आधारमा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरिएको छ । जसअनुसार नेपालमा पहिलोपटक बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदर हुने गरी २०७६।०४।१७ गते सन्दर्भ ब्याजदर निर्धारण भएको छ ।
सन्दर्भ ब्याजदर निर्धारणमा लिइने आधारहरू देहायअनुसार छन् :
(क) बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघहरूको औसत ब्याजदर,
(ख) सहकारी बैंकहरूको औसत ब्याजदर
(ग) बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनबमोजिम ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरूको औसत ब्याजदर,
(घ) ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनहरू,
(ङ) राष्ट्रिय सहकारी महासंघ विषयगत केन्द्रीय संघहरूबाट प्राप्त सुझाव,
(च) सन्दर्भ व्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरू ।
सन्दर्भ ब्याजदर निर्धारण गर्दा सामान्यतया देहायका सिद्धान्तहरू अवलम्बन गरिन्छ :
(क) बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी,
(ख) ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी,
(ग) बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी,
अन्त्यमा,
सहकारीसम्बन्धी ऐन र नियमका आधारमा रही निर्धारण गरिने ब्याजदर प्रत्येक तीन महिनामा पुनरावलोकन गर्न सक्ने व्यवस्था रहेको छ ।
डा. टोकराज पाण्डे सहसचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *